• २०८२ बैशाख ०५, शुक्रबार ( )
News in Nepali

विशिष्ट व्यक्तित्वहरूलाई सम्मान ग​र्दै इन्डोनेसियामा सम्पन्न भ​यो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५

Lumbinikhabar Online

इन्डोनेसियामा `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५´ सम्पन्न, नेपालका विशिष्ट व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय सम्मान

 

बाली, इन्डोनेसिया | निकिला मिडिया नेटवर्कद्वारा आयोजना गरिएको `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५ ´इन्डोनेसियाको बालीमा भव्य रूपमा सम्पन्न भएको छ। बाली पेजेन्ट्स को सहकार्यमा सम्पन्न यस कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका विशिष्ट योगदानकर्ता व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

 

यसअघि पहिलो अन्तर्राष्ट्रिय उपलब्धि पुरस्कार थाइल्याण्डको बैंकक सहरमा सम्पन्न गरिएको थियो।

 

इन्डोनेसियामा आयोजित उक्त अवार्ड सेरेमोनिमा अभिनेता शिव हरि नेपाल (बैरागी), व्यवसायी बद्री प्रसाद उप्रेती, कानुन व्यवसायी कलम बहादुर खत्री, साहित्यकार राधा देवी पराजुली (भण्डारी), सामाजिक कार्यकर्ता निशा लामा, उद्यमी शलिना लामा, सामाजिक अभियन्ता फुर्साङ लामा तामाङ, बैंकर कृष्ण केसी, व्यवसायी निरञ्जन भण्डारी, उद्यमी भैरव कुमार तामाङ तथा युवा उद्यमी एलीजा गौतमलाई विशेष सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी, चलचित्र लेखक घन बहादुर तामाङ (ऋतुराज पाख्रीन) लाई सर्वश्रेष्ठ चलचित्र लेखक, अधिवक्ता बासु देव दाहाल लाई सर्वश्रेष्ठ कानुन व्यवसायी, शिक्षाविद् लक्ष्मण घिमिरे लाई बहुप्रतिभाशाली शिक्षाविद्, कोरियाका शैक्षिक सल्लाहकार शाइन घिमिरे लाई सर्वश्रेष्ठ शैक्षिक सल्लाहकार, अभिनेता पवन प्रसाद खतिवडा (बाबा) लाई सर्वश्रेष्ठ अभिनेता, व्यवसायी आश्मिन सिटौला लाई उत्कृष्ट युवा व्यवसायी, र उद्यमी एलीजा गौतम लाई उत्कृष्ट युवा उद्यमी को रूपमा सम्मानित गरिएको हो।

 

कार्यक्रममा विभिन्न देशका अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो । जहाँ पर्यटन व्यवसायी यडि टार्सिसियोसको समेत विशेष उपस्थितिले कार्यक्रमलाई थप अन्तर्राष्ट्रिय स्वरूप प्रदान गर्‍यो।

निकिला मिडिया नेटवर्कका अनुसार, नेपालका प्रतिनिधि व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्नुको उद्देश्य उनीहरूको योगदानको कदर गर्नुका साथै विश्वस्तरमा चिनाउने रहेको बताइएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता अभिनेता तथा नायक श्रीदेब भट्टराईले गरेका थिए। समारोहमा बोल्दै भट्टराईले नेपाल र इन्डोनेसियाबीचको कला, संस्कृति र पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले भने, “यो अवार्ड समारोहले केवल प्रतिभाको कदर मात्र होइन, दुई मुलुकबीचको मित्रता र सांस्कृतिक सम्बन्धलाई समेत मजबुत बनाउने कार्य गरेको छ।”

यस्तै कार्यक्रमको सम्पूर्ण सञ्चालन कुशल रूपमा निर्देशक सोनित राज ढुङ्गेलले गरेका थिए । उनका सहज र प्रवाहपूर्ण प्रस्तुतिले कार्यक्रममा विशेष ऊर्जा थपेको थियो ।

Tags

छुटाउनु भयो कि ?