गएको १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईंको सचिवालयले उनले आत्मसमर्पण गरेको दाबी गरेको छ ।
९ः१३ मा दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा लेखिएको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षा को लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं !’
भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याइँदै गर्दा प्रसाईंको सचिवालयले आत्मसमर्पणको दाबी गरेको हो । नेपाल प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै काठमाडौंतर्फ ल्याउने तयारी भइरहेको बताएको छ ।
तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार प्रसाईं बी ए बी ४२०८ नम्बरको स्कर्पियो चढेर भागेका थिए । त्यहाँबाट भागेर उनी भारततर्फ लागेको भेटिएको थियो । फरार भएर भारततर्फ लुक्दै आए पनि प्रसाईंले भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंमै रहेको दाबी गरिरहेका थिए । तर उनी भारतको आसामबाट पक्राउ परेका छन् ।