टप खबर

डोनाल्ड ट्रम्पद्वारा चीनबाट आयात हुने सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा

Lumbinikhabar Online

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १२५ प्रतिशत कर (भन्सार महसुल) लगाउने घोषणा गरेका छन्। जुन तुरुन्तै लागू हुनेछ।

साथै बाँकी विश्वका लागि उनले ९० दिनको ‘स्थगन’ स्वीकृत गरी यस अवधिमा पारस्परिक ट्यारिफ १० प्रतिशतमा घटाइएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यो जानकारी दिँदै चीनले विश्व बजारप्रति सम्मान नदेखाएको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘विश्व बजारप्रति चीनले सम्मान नदेखाएकाले म अमेरिकाले चीनलाई लगाएको कर १२५ प्रतिशतमा बढाउँदै छु, जुन तुरुन्तै लागू हुनेछ। आशा छ- चीनले चाँडै बुझ्नेछ कि अमेरिका र अन्य देशलाई आर्थिक रूपमा निरन्तर हानि पुर्‍याउने दिन सकिएको छ र यो पनि स्वीकार्य छैन।’

साथै ट्रम्पले घोषणा गरेको ९० दिनको ‘रोक’को अर्थ यस अवधिमा चीनबाहेक सबै देशमा एकरूप १० प्रतिशत पारस्परिक ट्यारिफ लगाइनेछ। यो जानकारी ह्वाइट हाउसले दिएको छ।

Tags

छुटाउनु भयो कि ?