टप खबर

दाउन्नेमा दिन​को ११ घ​ण्टा बाटो ब​न्द​ ग​रेर​ स​ड​क बिस्तार ग​रिने

Lumbinikhabar Online

नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा अव दिउँसो पाँच घण्टा र राती ६ घण्टा आवागमन बन्द गरी सडक विस्तारको काम गरिने भएको छ ।

नवलपरासी पूर्व र पश्चिमका सरोकारवालाहरुको  शनिवार दाउन्नेमा बसेको बैठकले आवागमन बन्द गरेर सडक विस्ताको काम तीब्र पार्ने  निर्णय गरेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले जानकारी दिए ।

उनका अनुसार चैत २७ देखि ३१ गतेसम्म पाँच दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र बैशाख १ गतेदेखि १५ गतेसम्म राती ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने छ ।

पछिल्लो समय दाउन्ने खण्डमा काम तीब्र भएपनि दाउन्ने पार गर्न १० घण्टासम्म लाग्दा यात्रुलाई निक्कै सास्ती भएपछि दुबै जिल्लाका सरोकारवालाबीच यो विषयमा छलफल भई सहमति जुटेको हो ।   दाउन्ने क्षेत्रमा निर्माण कम्पनीले यात्रुलाई सहज हुने ढंगलेभन्दा पनि आफूलाई सजिलो हुने गरी काम गर्दा यात्रुले सास्ती पाएका छन् ।

दाउन्नेको १४ किलोमिटर सडक पार गर्न सामान्य अवस्थामा २ देखि ४ घण्टा लाग्ने गरेकोमा पछिल्लो केही दिन यता यो खण्डको १४ किलोमिटर पार गर्न ८ देखि १० घण्टासम्म लाग्ने गरेको छ ।

ठाउँठाउँमा ठूलाठूला खाल्डाखुल्टी, दुई फिटसम्मको धुलाम्य सडक, कल्भर्ड निर्माणका लागि काम भएका अधिकांश ठाउँमा एकतर्फी यातायात सञ्चालन आदिले गर्दा दाउन्नेको यात्रा कष्टपूर्ण बनेको हो ।

धुलो धुँवाले बाटो देख्नै गाह्रो हुने गरेको छ भने धुलोले निक्कै सास्ती भएको स्थानीयले बताएका छन् । सडक पूर्ण रुपमा जाम हुने र एकतर्फी रुपमा खुल्ने क्रम नियमित जस्तो भएकोले अहिले दाउन्नेमा २४ घण्टा नै ट्राफिक प्रहरी खटाउनु परेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख बन्जाराले बताए ।

Tags

छुटाउनु भयो कि ?