रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश गरेको छ ।
जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश शुक्रबार गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधशी रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।
त्यसैगरी बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएका उनका साझेदार एवम् पूर्वडीआईजी छविललाई जोशीलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको छ ।
यसअघि रविलाई कास्की, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएका थिए । उता छविलाई भने रुपन्देही जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको थियो ।
यसअघि रूपन्देही जिल्ला अदालतले सुप्रिमको बचत हिनामिना मुद्दामा रविलाई १ करोड धरौटीमा छाडेको थियो ।।
सुप्रिम प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
त्यही मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआइजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उक्त आदेशविरुद्ध जोशीका छोरा रोचकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा अदालतले प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० गते कैफियत प्रतिवेदन झिकाउन भनेको थयो ।
सरकारी वकिलले लामिछानेको मुद्दालाई जोशीकोसहित एकैठाउँ राखेर सुनुवाइ गर्न माग गरेका थिए । त्यसपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन मागेको थियो ।
सुप्रिम सहकारीमा रवि, छवि र गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित ४२ जनाको संलग्नता थियो । उनीहरूले ५५ करोड अपचलन गरेको मुद्दा चलेको थियो । रवि, छवि र जीबीले १० करोड ९९ लाख ३६ हजार रकम अपचलन गरेको पूरक अभियोगसहितको मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले चलाएको थियो ।