ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन् ।
तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग गए राति आयोजित हस्ताक्षर समारोहमा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले ऊर्जा क्षेत्रको विकास गर्न चाहेको बताए ।
मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उक्त लक्ष्यलाई पूरा गर्न टनेल बोरिङ मेसिनजस्ता प्रविधिबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले स्रोतको प्रयोग गरेर जलविद्युत् केन्द्र निर्माण गर्दैगर्दा स्थानीयस्तरमा रोजगारी समेत सिर्जना हुने बताए ।
भारत र चीनको बीचमा रहेको नेपालले दुवै देशका लगानीकर्तालाई भित्र्याएर फाइदा लिनुपर्ने मन्त्री खड्काले उल्लेख गरे ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले २०४६ सालको परिवर्तनपछि सरकारले लिएको नीतिका कारण ऊर्जा क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताए । नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे ।
तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले नेपालमा वर्तमान समयमा भइरहेको लोडसेडिङ अन्त्यका लागि यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।