प्रमुख सत्तारुढ नेपाली कांग्रेसले काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटना र विध्वंशको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको काङ्ग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
कांग्रेसले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने बताउँदै यसमा संलग्नमाथि कडा कारबाहीका लागि सरकारसँग माग पनि गरेको छ ।
कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे त्यो निष्कर्ष निकालेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।
राजावादीहरूको पूर्वयोजनाअनुसार निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको निष्कर्ष निकालिएको कांग्रेस प्रवक्ता महतले बताए । कांग्रेसले यो घटना गम्भीर रहेको भन्दै चाँडै सर्वदलीय बैठक बस्नु आवश्यक रहेको पनि ठहर गरेको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाबारे ब्रिफिङ गरेका थिए। लेखकले प्रहरीले राजावादीको सभास्थललाई ताकेर कुनै गोली र टियर ग्यास नहानिएको पनि बताएका छन् ।