• २०८१ चैत १८, मंगलबार ( )
टप खबर

पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

राजावादी समूहले तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग प्रचण्डले  हिजो भएको घट्नाको जिम्मेवार ज्ञानेन्द्र सरकारलाई यस्तो सुझाव दिएका हुन् ।

पूर्वराजाको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको उनको टिप्पणी छ । ‘जे भएको छ प्रष्ट के भएको छ भने यसको पछाडि ज्ञानेन्द्र शाह नै हो । ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो’ उनले भने, ‘अहिले पनि देखिएको छ । यही नै समय हो सरकारले कडा कदम चालोस् ।’

प्रचण्डले सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको पनि बताए । ‘सरकार र प्रहरीको राम्रो तयारी देखिएन । यहाँ आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झन्डै ४०–४५ मिनेट सुरक्षाकर्मी नदेखिनु बडो विडम्बना भन्नुपर्ने हुन्छ,’ उनले भने ।

सरकारले आफ्नो भूमिकाको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने प्रचण्डले बताए । ‘राजधानीको मुटुमा यस्तो विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गरोस् । आउने दिनको लागि पूर्ण तयारीमा लागोस् ‘, उनले भने, अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याओस । ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिंदैन । नेपाली जनता त्यसमा तयार छैन । यसमा पनि सरकार गम्भीर बनोस् भन्ने चाहन्छु ।

Tags

छुटाउनु भयो कि ?