नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले – जो भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ भन्ने अभिव्यक्ति दिएका छन् ।
तराई(मधेश जागरण अभियानअन्तर्गतको शनिबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘अहिले त के भएको छ भने जो बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ । अनि राम्रो काम गर्नेलाई कोपरेको छ, सताएको छ,’ उनले भने ।
अब मुलुक प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्ने अध्यक्ष प्रचण्डले बताए । ‘अब राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्छ अनि राष्ट्रपतिले विज्ञलाई मन्त्री बनाउनुपर्छ । त्यसपछि विश्वविद्यालयका अनुभवी शिक्षकहरू मन्त्री हुन पाउँछन् । मजदुर आन्दोलनका अनुभवी नेताहरू मन्त्री हुन्छन् । अहिले त जो बढी भ्रष्टाचारी, उही मन्त्री ।’
अहिले नेपाली कांग्रेसका नेता दीपक खड्का ऊर्जामन्त्री छन् । मन्त्री खड्का र माओवादीले विद्युत् प्राधिकरणमा ल्याएका कार्यकारी निर्देशन कुलमान घिसिङबीचको टकराव सतहमा छ । यही पृष्ठभूमिमा प्रतण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।
अहिलेको सरकारले राम्रो काम गर्नेलाई भने चिथोर्ने काम गरेको प्रचण्डको भनाइ छ । ‘राम्रो काम गर्नेलाई कोपरेको छ, चिथोरेको छ । जसरी हुन्छ, त्यसलाई सताएको छ,’ प्रचण्डले भने ।
उनले यस्तो अवस्था अन्त्य हुनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुुनुपर्ने पनि बताए ।