परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार भारतबाट स्वदेश फर्किएकी छन् । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर उनी अपरान्ह स्वदेश आइपुगेकी हुन् ।
त्रिभुवन विमानस्थलमा अवतरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेको बताइन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय नै नमागेकाले भेट हुने कुरै नभएको स्पष्टीकरण दिएकी छन् ।
भारतले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार परिवर्तन गर्न खोजेको हल्लामा कुनै सत्यता नभएको पनि बताइन् ।
‘भारतको त्यस्तो (सरकार परिवर्तन) गराउने भन्ने कुनै आशाय छैन’, उनले भनिन्, ‘यही डेम्रोक्याटिक सिस्टमलाई अगाडि लैजानु पर्छ भन्ने पक्षमै देखिएको छ ।’
पत्रकारका एक प्रश्नमा उनले भारत नेपालमा सदैव प्रजातान्त्रिक प्रणालीमा नै विश्वास गर्ने स्पष्ट पारिन् । नेपालमा हालै भएका राजनीतिक घटनाक्रमबारे गरिएको प्रश्नमा उनले भनिन्, ‘यस विषयमा त भारतमा कुनै कुरा भएन । तर पनि हामीले देखिरहेकै छौँ, भारत नेपालमा प्रजातान्त्रिक प्रणाली नै चाहन्छ ।’