टप खबर

एक महिनाभित्र दर्ता नभए नेपालमा फेसबुक,एक्स र इन्स्टाग्राम चल्न नदिने स​र​कार​को चेतावनी

Lumbinikhabar Online

सरकारले फेसबुक–इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालनेपालमा एक महिनाभित्र दर्ता नभए चल्न नदिने चेतावनी दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै बिहीबार तेस्रो पटक सूचना प्रकाशित गरेर दर्तामा नआए रोक लगाउने चेतावनी दिएको हो ।बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘…तोकिएको समयभित्र सूचीरकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्जालनमा रोक लगाउन सक्‍ने व्‍यहोरा समेत जानकारी गराइन्छ।’

हालसम्म ३ वटा कम्पनी मात्रै सूचीकरण भएको उल्लेख गर्दै मन्त्रालयले ती कम्पनीलाई १ महिनाभित्र नेपालमा सूचीकरण हुन सूचना जारी गरेको हो ।   हालसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याब प्रालि सूचीकरण भई सञ्चालनमा छन्।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सूचीकरण हुनुपर्ने उल्लेख छ।

सूचीकरण हुने कम्पनीले कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने हुन्छ।

Tags

छुटाउनु भयो कि ?