मंगलबार बिहान २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ ।
लामालाई बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो । लामा उक्त रकम बोकेर रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बिहान ना७ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरूङतर्फ जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ‘बिहान कुनै गाडीमा अवैध मुद्रा रसुवातर्फ लगिँदैछ भन्ने सूचना आयो,’ पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृतले भने, ‘हामीले त्यहाँ धेरै गाडीहरू सर्च गर्यौँ । यो ट्रकलाई पनि रोक्यौँ । सुरुमा चालक अलि डराएको जस्तो देखियो । त्यसपछि हामीले थप सजक भएर उनीसँग कुरा गर्यौँ । कुराकानीकै क्रममा उनले ट्रकमा के छ भन्नेबारे खुलाउन नचाहेपछि हामीले नियन्त्रणमा लिएर छानबिन सुरु गर्दा पैसा भएको पाइयो ।’
यसअघि सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल परेका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए । जेलबाट छुटेपछि पनि उनले तस्करीको कारोबार छोडेनन् । उनले प्रहरीसँगको बयानमा आफू भरियाको रुपमा काम गर्दै आएको बताएका छन् । तर, उनले अहिले बरामद रकम कस्को हो भन्ने चाहिँ नखुलाएको प्रहरीले जनाएको छ ।