पछिल्लो समय रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ। रुसको लगातारको आक्रमणले त्यहाँको अवस्था एकदमै असहज बनेको युक्रेनी अधिकारीले बताएका छन्।
डोन्सटक क्षेत्रमा भएको आक्रमणमा ११ जनाको ज्यान गएको छ भने ४० जना हराएका छन्। मृत्यु हुनेमा ६ जना बालबालिका छन्।
गएको साता ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता तनावपूर्ण बनेपछि रुसले फेरि आक्रमणको योजना बनाएको हो। ट्रम्पसँगको वार्तामा भनाभन भएपछि अमेरिकाले सैन्य सहयोगसँगै गुप्तचर साझेदारी पनि रोकेको थियो। त्यसपछि रुसले निरन्तर आक्रमण गरेको हो।
शुक्रबार डोन्सटकमा आठ आवासीय भवन तथा दुई डिपार्टमेन्टल स्टोरमा आक्रमण भएको हो। सोही आक्रमणमा ११ जना मारिएका थिए। शुक्रबार र शनिबार त्यो क्षेत्रमा भएको अन्य आक्रमणमा ९ जनाको ज्यान जानुका साथै १३ जना हराए।