उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबकाे कार्यभार राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति गर्नु रहेकाे बताएका छन्। प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्ने बताएका हुन्।
‘प्राप्त गरेकाे राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थीरताकाे जगमा अब आर्थिक क्रान्ति गर्ने हाे,’ उपप्रधानमन्त्री सिंहले भने। अहिलेकाे व्यवस्था लामाे संघर्ष र बलिदानबाट प्राप्त भएकाे भन्दै अधिकारसँगै सबैले आआफ्नाे जिम्मेवारी पूरा गरेर बलियाे बनाउनुपर्नेमा पनि सिंहले जाेड दिए।
अग्रज नेताहरूले आफ्नाे समयमा जेलजीवन, यातना, निर्वासन र सहिद भएर दिएकाे अधिकार सुरक्षित गर्ने दायित्व अहिलेकाे नेतृत्वकाे काँधमा रहेकाे भन्दै उनले त्यसका लागि नेपाली कांग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे।