नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको बताउनुभएको छ ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने आधारहरु रहेपनि त्यसतर्फ जान नसकेको बताउनुभयो । उहाँले वैज्ञानिक भूमि सुधार गर्नुपर्नेमा सरकारले अहिले व्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको जिकिर गर्नुभयो ।
सम्मानित नेता खनालले कृषि क्रान्ति गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजान जरुरी रहेको बताउनुभयो । उहाँले किसानले बजार नपाउने समस्याको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले देश संकटउन्मुख रहेको बताउनुभयो । सम्मानित नेता खनालले भ्रष्टाचार अन्त्य गरी भ्रष्टाचार गर्नै नपर्ने र गर्नै मन नलाग्ने किसिमको समाजवाद निर्माण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले समाजका विकार र विकृतिहरु हटाउँदै जानुपर्ने बताउनुभयो ।
सम्मानित नेता खनालले नेपाली भूभाग विदेशीको कब्जामा रहेको र त्यसलाई फिर्ता ल्याउने कुनै पहल हुन नसकेको बताउनुभयो । समाजवादको जामा लगाउनेहरु समाजमा धेरै रहेको बताउँदै नाम मात्रैको समाजवादीले समाजवादमा नपुगिने बताउनुभयो ।