सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले कुइँकेललाई ६ वर्ष कैद सजाय तोकिएको छ ।
सर्वोच्च अदालतले कुइकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए ।
अदालतले पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ । उनले ९१ लाख ६३ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई त्यति नै जरिवाना हुनेछ ।
काठमाडौं जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई ६ वर्ष कैद सजाय हुने फैसला भएको छ । उनले ६२ लाख ३७ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ ।
अर्का स्थानीय विकास अधिकारी प्रेमराज जोशीमाथि ६ महिना कैद सजायको फैसला भएको छ । उनले २ करोड ३७ लाख रुपैंया भ्रष्टाचार गरेको ठहर सहित सर्वोच्च अदालतले त्यति नै रकम जरिवाना गर्ने फैसला गरेको छ । काठमाडौं जिविसका तत्कालिन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद र जरिवानाको फैसला भएको छ ।
सर्वोच्च अदालतले बालुवाखानीको ठेक्का पाएका बच्चराम दाहालबाट १२ करोड ९९ लाख रुपैंया असुल्नुपर्ने फैसला गरेको छ । अर्का ठेकेदार मिठाराम दाहालबाट २ लाख ३७ हजार असुल्नुपर्ने फैसला भएको छ ।