जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ । नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल-जापान सेवा आदान-प्रदान कार्यक्रम’अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हुन् ।
कार्यक्रमलाई प्रभावकारी बनाउन जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी र सान्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए । जापानको स्वास्थ्य सेवा क्षेत्रमा नेपालबाट पठाउने काम सन्दिपनीले गर्नेछ ।
१८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुनेछन् । जापानको केयरगिभिङ क्षेत्रमा जान चाहने नेपालीका लागि नर्सिङ विषयको अध्ययन अनिवार्य गरिएको छैन । जापानी भाषाको आधारभूत ज्ञान एन-फोर लेभलको भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपालीहरू जापानको केयरगिभिङ क्षेत्रमा जान पाउनेछन् ।
भाषा परीक्षा र सीप परीक्षणमा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्तामार्फत जापानी कम्पनीले छनोट गर्ने पीएसएसका कार्यकारी निर्देशक चिजो मासुदाले बताए । यसरी छानिएकाहरूलाई नेपालमा नै केयरगिभरका लागि आवश्यक सूचनाप्रविधि र एआईलगायतका तालिम प्रदान गरिनेछ ।
यसरी छानिएका नेपाली केयरगिभरलाई जापानी कम्पनी पीएसएस खाइगोले जापानका विभिन्न स्थानमा रोजगारी दिनेछ । जापानमा केयरगिभरको काम गर्नेहरूले मासिक दुई लाख जापानी येनसम्म आम्दानी गर्न सक्ने जानकारी दिइएको छ ।