टप खबर

एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश: स्वास्थ्यमन्त्री प्रदीप पौडेल

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आवश्यक एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा राखि कार्यान्वयनमा आएको बताउनुभएको हो । योसँगै राष्ट्रिय खोप तालिकामा ११ वटा खोपहरु समावेश गरिएको मन्त्री पौडेलले बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले नेपालमा हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र ४ जना महिलाको यही रोगको कारण मृत्यु हुने गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालको कुल मृत्युको ११ प्रतिशतभन्दा बढी हिस्सा क्यान्सरले लिएको उल्लेख गर्दै यसको यसको न्युनिकरणका लागि निश्चित लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले डब्लुएचओले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहने अवस्थामा पु¥याएर निवारण गर्न १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपिभी खोप दिएर सन् २०३० सम्ममा यो खोपको कभरेज कम्तिमा ९० प्रतिशत पुर्याउने रणनीति निर्धारण गरेको बताउँदै त्यही रणनीतिको आधारमा सरकार अघि बढिरहेको दाबी गर्नुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले विश्वमा रहेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको बताउनुभयो । उहाँले सन् २०३० सम्ममा यो संख्या वृद्धि भएर ७ लाखसम्म पुग्ने अनुमान गरिएको समेत उल्लेख गर्नुभयो ।

Tags

छुटाउनु भयो कि ?