टप खबर

हामीबाट गल्ती भएकै हो, पार्टी एकता कायम राख्न सकेनौं : प्रचण्ड

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट विगतमा केही गल्ती भएको स्वीकार गरेका छन् । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरेका हुन् ।

नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकारसम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाइ गरेको उल्लेख गर्दै उनले पछिल्लो समय भएका त्रुटि स्वीकार गर्दै अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्किएको बताए । ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं,’अध्यक्ष प्रचण्डले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं ।’

पार्टीले के-के राम्रा काम गर्‍यो ? कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरूपमा जनताका बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए ।

‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं । बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं,’ उनले भने, ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौं। हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने छ । ८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपीलका साथ देशब्यापी अभियानमा हिंडेको छु । अब चाँडै सिंगो पार्टी पंक्ति देशव्यापी अभियानमा जुट्ने छ ।’

आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरूका विरुद्ध धावा बोलिएको बताए । आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको पनि उनले स्पष्ट गरे ।

Tags

छुटाउनु भयो कि ?