नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले को राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किनु उचित नहुने बताएका छन् ।
प्रेस चौतारी रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रप्रमुख, उपप्रमुख पार्टीको सकृय राजनीतिमा आउनुलाई राम्रो नमानिने र एमालेले पनि त्यो विषयमा कुनै छलफल नगरेको दाबी गरे ।
‘संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन, एमालेमा पनि केही चर्चा बजारमा सुनिएको छ, तर विद्या भण्डारी आफै नै राजनीतिमा आउनुहुन्छ भन्ने मलाई लाग्दैन त्यो राम्रो पनि होइन’, उनले भने, ‘ सामान्य अवस्था एमालेलेमा त्यो संभव मैले देख्दैन, असामान्य अवस्थामा तत्काल सल्लाह हुने कुरा फरक हो, अध्यक्षको प्रतिस्पर्धा गर्ने गरी आउने भन्ने कुरा सत्य होइन अनुमान मात्रै हो ।’
पूर्वपरराष्ट्रमन्त्री रहेका नेता ज्ञवालीले देशकै सर्वाेच्च पदमा पुगेका व्यक्ति दलको सकृय राजनीतिमा आउने कुरा आमनेपालीले चाहेको विषय नभएको बताए । नेकपा एमालेको राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चाले बहस पाइरहेका बेला पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले त्यसबारे खुलेर बोलेका हुन् ।