टप खबर

वित्तीय सहयोग रोक्ने ट्रम्प आदेशको नेपालमा असर, ४ परियोजनाको अनुदान ९० दिनलाई रोकियो

Lumbinikhabar Online

नेपाल सरकार र अमेरिकी सहयोग नियोग (यूएसएआईडी)बीच २०७९ साल वैशाख २२ गते हस्ताक्षर भएका विकास उद्देश्य सम्झौता अन्तर्गत प्राप्त अनुदान सहयोगमा आधारित चार आयोजना ९० दिनका लागि स्थगित गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय वित्तीय सहयोग रोक्ने कार्यकारी आदेश दिएसँगै नेपालमा पनि अमेरिकी अनुदानमा सञ्चालित आयोजनाहरू बन्द भएका हुन् ।

 

यही जनवरी २० मा शपथ ग्रहण गरेपछि ट्रम्पले दर्जनौं कार्यकारी आदेश जारी गर्दै अन्य देशलाई दिएको वित्तीय सहयोग रोक्ने निर्णय गरेका थिए । यूएसएआईडी नेपालले एक पत्रमार्फत अर्थ मन्त्रालयलाई ती चार आयोजना ९० दिनका लागि स्थगित भएको जनाएको सहसचिव एवं अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले बताए ।

 

उक्त पत्रअनुसार बजेट प्रणालीमार्फत सर्वसंचित कोषबाट भुक्तानी हुने प्रकृतिका चार आयोजनाहरू बन्द भएका प्रवक्ता महेश भट्टराईले बताएका छन् । बन्द हुने आयोजनामा यूएसएआईडी स्वास्थ्य प्रत्यक्ष वित्तीय परियोजना, यूएसएआईडी कृषि प्रत्यक्ष वित्तीय परियोजना, यूएसएआईडी शिक्षा प्रत्यक्ष वित्तीय परियोजना र यूएसएआईडी समावेशी नीति प्रत्यक्ष वित्तीय परियोजना रहेका छन् ।

 

पत्रअनुसार यी आयोजनामा उपलब्ध गराइने अनुदान सहयोग ९० दिनका लागि स्थगित गरिएको हो । पत्रमा यो ९० दिनको अवधिमा स्थगित भएका आयोजनाहरू अन्तर्गत यूएसएआईडीको स्रोतबाट कुनै नयाँ दायित्व सिर्जना नगर्न सम्बन्धित सबै सम्बद्ध निकायलाई सूचित गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?