राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल भएको छ । योसँगै अब वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव हुने भएको छ ।
यसअघि, यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए ।
यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको भनाइ छ ।
बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तिर्नुपर्ने समस्या कम हुने भट्टले जानकारी दिए ।