प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि उनीहरूकै उपस्थितिमा दुवै देशका सम्बन्धित अधिकारीहरूले ९ वटा महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर तथा पत्र आदानप्रदान गरेका हुन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सहमतिमा भैंसीको मासु निर्यात गर्नेदेखि टोखा छहरे सुरुङमार्ग बनाउनेसम्मको सहमति भएको छ ।
यी हुन् नेपाल र चीनबीच भएका समझदारी
- टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
- नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
- नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
- फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
- विकास योजना सम्बन्धी समझदारी पत्र
- आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
- नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
- स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
- नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र