टप खबर

न्यायाधीशलाई रवि लामिछानेले भने : कतै भाग्दिनँ, धरौटीमा छोडिदिनुस्

Lumbinikhabar Online

न्यायाधीशलाई रवि लामिछानेले भने : कतै भाग्दिनँ, धरौटीमा छोडिदिनुस्

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ।

सहकारी ठगी र संगठित अपराध कसुरमा काठमाडौंबाट लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।

लामिछानेले आफूलाई हिरासतमुक्त गर्न आग्रह गरे

रास्वपा सभापति लामिछानेले आफूलाई हिरासतमुक्त गर्न गरेको आग्रहलाई न्यायाधीशले अस्वीकार गरेका छन्।
न्यायाधीश बेलबासेको इजलासमा सभापति लामिछानेले आफूलाई धरौटीमा रिहा गर्न आग्रह गरेका थिए।

उक्त आग्रह सुनेपछि न्यायाधीश बेलबासेले कास्कीबाट रिहा भए पनि अन्यत्र लैजाने भएकाले हिरासतमा राख्ने म्याद थप गर्ने बताएको बहसमा उपस्थित कानुन व्यवसायीले बताएका छन्।

‘रवि लामिछानेले इजलासमा श्रीमान् मलाई बाहिर बस्न दिनुस्, म कतै जादिनँ, भाग्दिनँ, अदालतलाई सहयोग गर्छु। धरौटीमा छोडिदिनुस् भन्नुभएको थियो,’ इजलासमा उपस्थित एक कानुन व्यवसायीले भने, ‘जबाफमा न्यायाधीशले तपाईंविरूद्ध धेरै ठाउँमा मुद्दा छ, यहाँबाट रिहा गरे पनि अर्को ठाउँमा लगिहाल्छ, तपाईं यहीँ बस्नुस्। तपाईंलाई अहिले म्याद थप्छु।’

लामिछानेविरूद्ध काठमाडौं, चितवन र रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ। यस बीचमा लामिछानेले रूपन्देही पुगेर बयान दिइसकेका छन्। उनलाई काठमाडौं ल्याउने तयारी छ।

Tags

छुटाउनु भयो कि ?