चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले भारतलाई १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको बिजुली बिक्री गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट बिजुली भारतलाई बेचेको हो।
चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औषत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताएका छन् ।