नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताउनुभएको छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेको सन्दर्भमा आज उहाँले यस्तो बताउनुभएको हो ।
शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको बताउँदै अध्यक्ष दाहाले भन्नुभयो, ‘आजको दिन सबैले स्मरण र सम्मान गर्नुपर्ने दिन हो’ ।
अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्न भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायतका न्यायपूर्ण सङ्घर्षमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने प्रक्रियामा रहेको बताउँदै अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारका पालामा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको प्रष्टिकरण गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएर नेपाललाई शान्तिको नयाँ ‘मोडेल’ का रुपमा प्रस्तुत गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढेका छौँ ।’