संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीलाई उनले निर्देश गरे ।
गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।
हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको उनले बताए ।
तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उनले बताए । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको उनले जानकारी दिए ।