नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टिम लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता एक वर्षको लागि भएको हो भने दुवै पक्षले रकमबारे खुलाउन चाहेनन्।
सम्झौता पत्रमा हस्ताक्षर गरेपछि ब्रान्ड एम्बेसडरको जिम्मेवारीलाई टिमसँग भावनात्मक रूपमा जोडिएको बताए।
हमालले भने, ‘व्यक्तिगत रुपमा एनपीएललाई मात्र होइन, समग्र क्रिकेटलाई लिएर लुम्बिनीले जुन किसिमको प्रतिबद्बता देखाइरहेको छ, त्यसबाट म प्रोत्साहित छु।’
नेपाल प्रिमियर लिग (एनपीएल) मा जोडिएका उनले एनपीएल र नेपाली क्रिकेटको प्रवर्द्धनमा आफूले भूमिका खेल्ने बताए ।
हमाललेले भारतमा पढ्दा भारतीय पूर्व कप्तान कपिल देव पढेको कलेजमा पढेपनि क्रिकेटले कहिले तान्न नसकेको र नेपालले खेल्न थालेपछि क्रिकेट खेल प्रति आकर्षित बढेको जिकिर गरे। उनले कप्तान रोहित पौडेल र लिजेन्ड शक्ति गौचनलाई भेट्न पाउँदा खुशी लागेको बताए।
मार्की खेलाडी रोहित पौडेलले राजेश हमाल लुम्बिनीको ब्रान्ड एम्बेसडर हुनुभएसँगै टिमलाई नै प्रेरणा मिल्ने बताउँदै उहाँ लुम्बिनीको मात्र नभएर देशको नै ब्रान्ड एम्बेसडर भएको बताए।
रोहितले लुम्बिनी प्रदेशकै भएको र लुम्बिनीसँग जोडिन पाउँदा खुशी लागेको भन्दै टिमले सबै किसिमको सहयोग गरेको र अब टिमले सोही अनुसार प्रदर्शन गर्नुपर्ने बताए।