टप खबर

देशको विकासमा सहयोग गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री पौडेलको आग्रह

Lumbinikhabar Online

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गर्नुभएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन वासिङ्टन, डिसीमा रहनुभएका मन्त्री पौडेलले त्यहाँस्थित नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह गर्नुभएको हो ।

‘वर्तमान सरकारको उद्देश्य जनचाहनाअनुसार विकास गर्दै समृद्धिको मार्गमा अघि बढ्नु हो, त्यहीअनुरुप काम गरिरहेका छौँ ।’ मन्त्री पौडेलले भन्नुभयो । उहाँले ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका पर्याप्त अवसर भएकाले विदेशमा आर्जन गरेको सीप, पुँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न सुझाव दिनुभयो । यस्तै उहाँले लगानीकर्तालाई सरकारले प्राथमिकताका साथ सहजीकरण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

अर्थमन्त्रीले सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो ।

Tags

छुटाउनु भयो कि ?