टप खबर

म सिंह भएर निस्केको छु, विद्यार्थीहरू सडकको बाघ भएर निस्कनुस् : प्रचण्ड 

Lumbinikhabar Online

विद्यार्थीलाई निर्देशन दिँदै उनले भने : पछिल्लो राजनीतिक अवस्था सामान्य छैन, निकै जटिल हुँदै गएको छ

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनेरास्ववियु (क्रान्तिकारी)लाई सडकको बाघ भएर निस्कन निर्देशन दिएका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालयमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ योजना र कार्यक्रमको संकल्पसहित सडकको बाघ भएर निस्कन निर्देशन दिए ।

विद्यार्थीलाई निर्देशन दिँदै उनले भने, ‘पछिल्लो राजनीतिक अवस्था सामान्य छैन, निकै जटिल हुँदै गएको छ । प्रतिक्रियावादी शक्तिहरूले प्राप्त उपलब्धिमाथि प्रहार गरिराखेका छन् । त्यसमा विदेशी शक्तिहरूले चलखेल गरिरहेका छन् । सम्पूर्ण संकटको सामना गर्ने सामर्थ्य वामपन्थी तथा विशेष गरी माओवादी शक्तिमा छ, यो जटिल परिस्थितिको सामना गर्न तपाईँहरूको साथ भएमा केही महिनाभित्रै परिस्थिति उल्टिछ । तपाईँ सडकको बाघ हुनुहोस् र म संसदमा सिंह भएर निस्किएको छु । तपाईँको साथ भएमा हामी जित्छौँ ।’

उनले सरकारमा रहँदा आफूले भ्रष्टाचारविरुद्ध अभियान छेडेकै कारण सत्ता छाड्नुपरेको दाबी गरे ।

प्रचण्डले भने,‘इतिहासमा यति धेरै हाइ-प्रोफाइविरूद्ध कहिले कारबाही भएको थिएन । भूमाफियाविरुद्ध अभियान छेडेकै हो । सामाजिक न्यायको क्षेत्रमा अभियान चलाएकै हो । बिचौलिया, दलाल पुँजीवादीविरूद्ध जिहाद छेडेकै हो । यही कारणले हामीलाई सरकार छाड्न बाध्य पारेकै हुन्।’

प्रचण्डको दाबी : बेलायतका प्रधानमन्त्रीले मलाई प्रधानमन्त्रीकै हैसियतमा चिठी पठाउनुभयो

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलायतका प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्रीकै हैसियतमा चिठी पठाएको दाबी गरे ।

‘म प्रधानमन्त्रीको हैसियतमा विभिन्न अन्तर्राष्ट्रिय फोरममा जाँदा माओवादीबारे राम्रो प्रभाव परेको देखेँ । अझै प्रचण्ड नभई हुँदै हुँदैन भन्ने उनीहरूलाई छाप परेको छ’, खुलासा गर्दै उनले भने, ‘सरकारबाट हटेपछि बेलायतका प्रधानमन्त्रीले मलाई प्रधानमन्त्रीकै हैसियतमा एउटा चिठी पठाए । बेलायती राजदूतले ल्याएर त्यो चिठी दिनुभएको थियो । म अहिले प्रधानमन्त्री होइन । सरकारबाट हटिसकेँ किन चिठी पठाएको भने । जवाफमा तपाईं प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री सरहकै मान्छे हुनुहुन्छ के फरक पर्छ र भन्नुभयो ।’

प्रचण्डले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने दाबी गरे ।

Tags

छुटाउनु भयो कि ?