टप खबर

अबको दश वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको दश वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् । बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसमा उनले यस्तो बताएका हुन् ।

 

उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए । मन्त्री पौडेलले अहिले कोही बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिएजस्तो देखिएको उनको टिप्पणी छ

 

‘हाम्रो कस्तो छ भने को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ,’ उनले भने, ‘उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो पनि अलि बढी छ । तर निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म ? यसरी नै जाने हो भने नेपालमा सबैभन्दा बढी २० वर्षभित्र नेपालमा ५० वर्ष भन्दा माथिको संख्या बढी हुन्छ । त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन्, अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन। त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ ।

 

उनले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको बताए । उनले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको आरोप लगाए ।

 

अहिले कै अवस्था रहिरहे नेपालमा अबको २० वर्षभित्र ५० वर्षभन्दा माथिको संख्या बढी हुने उनको दाबी छ । खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको बताए ।

 

मन्त्री पौडेलले अस्पतालहरूले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए । उनले देशमा कुनै पनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको बताए ।

Tags

छुटाउनु भयो कि ?