टप खबर

मिर्गौला प्रत्यारोपणका सम्बन्धमा नातेदारको दायरा फराकिलो बनाउन सर्वोच्चको आदेश

Lumbinikhabar Online

सर्वोच्च अदातलते मिर्गौला प्रत्यारोपणका सम्बन्धमा नातेदारको दायरा फराकिलो बनाउन आदेश दिएको छ ।

 

अहिलेको कानूनले ‘नजिकका नातेदार’लाई मात्र स्वीकार गरेकोमा न्यायाधीश हरिप्रसाद फुयाँल र कुमार चुडालको संयुक्त इजलासले नातेदार सम्बन्धमा नयाँ परिभाषा वा दायरा फराकिलो बनाउनुपर्ने ठहर गर्दै दायरालाई बढाउन आदेश दिएको हो ।

 

झापा, लखनपुरका मिर्गौला पीडित विष्णुबहादुर खत्रीको मुद्दामा सर्वोच्चले गत साउन ८ गते फैसला सुनाउँदै मिर्गौला प्रत्यारोपणका लागि तयार भएकी दाताको मिर्गौला स्वीकार गर्नू भनी परमादेश जारी गरेकोमा उक्त फैसलाको पूर्णपाठमा यस्तो आदेश दिइएको छ ।

 

फैसलाको पूर्णपाठमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको नाममा पनि आदेश गरिएको छ । ‘प्रचलित कानूनमा तोकिएका नातेदारलाई मात्र सीमित नराखी आवश्यक परिमार्जन गर्नू भनी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई आदेशको एकप्रति साथै राखी पठाउनू’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

 

सर्वोच्चले महिला भएकै कारण फुपूकी छोरीलाई बहिनी अस्वीकार गर्नुपर्ने कानुनी आधार नभएको उल्लेख गरेको छ ।

 

‘नजिक नाताको फेहरिस्तमा आफूलाई शिक्षा–दीक्षा दिने गुरु, गुरुआमा वा विद्यार्थी, चेला–चेली वा कार्यालयका सहकर्मी लगायतको वर्ग समूह वा प्रकृति नदेखिएको स्थितिमा त्यस्ता व्यक्ति नजिक नातेदारमा समावेश हुने गरी व्याख्या गर्न सकिन्न । तर मामा–माइजू, काका–काकी, फुपू–फुपाजु जस्ता नातेदार समावेश गरिरहेको स्थितिमा केवल महिलातर्फका कारणले वा शाब्दिक छुटका कारणले सोही नाता सम्बद्ध नातेदारलाई मात्र बाहेक गरी व्याख्या गर्न पनि मिल्ने देखिँदैन ।’ फैसलामा भनिएको छ ।

 

फैसलामा थप भनिएको छ, ‘अर्कोतर्फ मानवीय गरिबीको आडमा हुन सक्ने खरिद बिक्री वा शोषण समेतलाई मध्यनजर गर्दै मानव अंग प्रत्यारोपणमा आर्थिक कारोबार, दबाब तथा प्रभावको सम्भावनालाई निराकरण गर्न अंग लिने दिने सम्बन्धमा पारदर्शिता देखिनुपर्ने देखिन्छ ।’

Tags

छुटाउनु भयो कि ?