दशरथ रंगशालालाई उत्कृष्ट बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरुका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने बताउनुभयो ।
भलिबल टिमका लागि एउटा कभर्ड हलको आवश्यकता रहेको कुरा खेलाडीहरु स्वयंले पनि बताइसकेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले आवश्यक ध्यान दिइ काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले हरेक प्रदेश र जिल्ला—जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीहरुलाई अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले सुविधा खेलाडीलाई उपलब्ध गराउने कुरामा अलि बढी ध्यान दिनुपर्छ । यसमा हामी सबैको ध्यान गएको छ । तसर्थ यस अवस्थालाई हामी अवश्य परिवर्तन गर्नेछौँ । देशको अर्थतन्त्रको स्थिति राम्रो छैन । हामी कतिसम्म सक्छाँै सुविधाहरु, भौतिक पूर्वाधारहरु र अन्य सुविधाहरु वृद्धि गर्नमा हाम्रो अधिकतम ध्यान जानेछ ।’
प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको बताउनुभयो । केही समयअघि भूटानको पारोसँगको खेलमा दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी रंगशाला निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले दर्शकलाई देखाउने गरीे खेल खेल्न २५ हजार दर्शक क्षमताको रंगशाला अपरिहार्य रहेको भन्दै मैदान चुस्त, दुरुस्त बनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मैदानको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो ।