स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताए ।
उनले अस्पतालहरुमध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको बताए । उनले अहिलेको साधन श्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको बताए । उनले उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताए । नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति सिमित रहेको पनि बताए ।
‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेर पनि मैले यो भन्नुपर्छ । खासगरी समस्याको पहिचान नगरी समाधान हुँदैन ।
रोगको पहिचान नगरीकन त्यसको उपचार हुन सक्दैन । अस्पतालहरुमध्येमा प्रसुती अलि अगाडि, अलि व्यवस्थित छ । यसको स्वास्थ्य सेवा एकदमै प्रभावकारी रुपमा छ भनेर मैले खुशी पार्ने नाउँमा त्यस्तो भन्दिनँ’, उनले भने, ‘तर तुलनात्मक रुपमा यो अलि अगाडि छ, यसले पूर्णता पाउन जरुरी छ ।
अहिलेको साधन श्रोतभित्र यो खालको उपलब्धि जुन भएको छ, यसैमा सन्तुष्टि लिने स्थिति छैन । साधनश्रोत बढाउने स्थिति छैन, जनशक्ति बढाउने स्थिति छैन ।
उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट हामीले प्रभावकारिता बढाउन जरुरी छ । अस्पतालमा अझ बढी समय दिनुस् भनेर अनुरोध गर्न खोजेको हो । नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति एकदमै सिमति छ, हाम्रो जनशक्ति थोरै छ ।’
अस्पतालको लाइन कम हुने गरी काम गर्न चिकित्सकहरूलाई मन्त्री पौडेलको आग्रह
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको लाइन कम हुने गरी काम गर्न चिकित्सकलाई काम गर्न आग्रह गरे ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको वार्षिकोत्सवमा मन्त्री पौडेलले उपचारका लागि आउनेहरूको लाइन घटाउन प्रणालीगत सुधार आवश्यक रहेको बताए । यस्तै उनले टोकन प्रणाली लागू गरे पनि लगत तरिका प्रयोग गरिएको बताए ।
दिनको एक घण्टा टोकन खोलेर सेवाग्राहीलाई सोही टोकनमा समयमा उपलब्ध गराउन मन्त्री पौडेलले जोड दिए । ‘मैले सुनेको एकै पटक मुठ्ठीभर टोकन लिएर जाने रे, अनि चिया पसलमा बसेकालाई दिने चालन रहेछ,’ उनले भने, ‘त्यसैले यो टोकन सिस्टम व्यवस्थित गर्नुपर्यो ।’
मन्त्री पौडेलले आफूसँग भएको स्रोत र साधनको प्रयोग गरी स्वास्थ्य सेवाको प्रभाकारिता बढाउन समय थपेर पनि चिकित्सकले काम गर्नुपर्ने बताए ।