प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग भएको सहमतिप्रति आफू प्रतिवद्ध रहेको भन्दै २ वर्ष पुग्न भन्दा अगाडि एक हप्ता अगाडि राजीनामा दिने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न भन्दै सहमतिको सरकार चुनावसम्म जाने बताएका हुन् ।
कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै उनले भने, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको बताए ।
कांग्रेस र एमालेबीच १७ असारमा भएको सातबुँदे सहमतिमा २ वर्ष ओली प्रधानमन्त्री हुने र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने उल्लेख छ ।त्यसै अनुसार अगाडि बढ्ने ओलीले प्रष्ट पारे ।
‘यो सरकार मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु’, गर्छ कि गर्दैन भन्ने कुनै दुविधा नहुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यसपछि शेरबहादुरजीको नेतृत्वमा चुनावसम्म जाने हो ।’
उनले कांग्रेस सांसद रमेश लेखकको नाम नलिई संसदको रोष्ट्रमबाट सबै धोका खाएकाहरु एक भएर धोकाबाट सिक्न खोजे भने के हुन्छ विचार गर्नुभएको छ कि छैन भनेको पनि स्मरण गरे ।