टप खबर

उपसभामुख प्र​कर​ण बारे रास्वपा: आर्थिक लेनदेन भ​एको छैन​, राना निर्दोष छिन्

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा पहिलो पटक औपचारिक धारणा सार्वजनिक गर्दै प्रतिरक्षामा उत्रिएको छ । रास्वपाले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको प्रष्टिरण दिएको छ ।

 

उपसभामुख रानाले पदीय दुरुपयोग गरेको दाबी गर्दै सत्तारुढ नेपाली कांग्रेसले राजीनामा मागिरहेका बेला रास्वपाले आज (आइतबार) बिहान विज्ञप्ति निकालेर त्यसको खण्डन गर्दै आफ्नो पूर्व नेतृको बचाउ गरेको हो ।

 

‘केही समयअघि उक्त विषय (रानाविरुद्धको आरोप) बारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो। सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देशबाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन’, रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो कुराकानी पनि पार्टीसँग सुरक्षित रहेको उनले उल्लेख गरेका छन्।

 

यस क्रममा रास्वपाले धेरै राजनीतिक दलका नेताहरूले भिसाका लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको दाबी पनि गरेको छ । उपसभामुख रानाका विषयमा निष्पक्ष छानबिनका लागि आफू तयार रहेको पनि उसले प्रष्ट पारेको छ ।

 

‘विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन, भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ’, रास्वपाले विज्ञप्तिमार्फत भनेको छ, ‘उपसभामुखज्यूलगायत अन्य नेताहरूबाट कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भएरनभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा सधैँ रहिआएको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौँ।’

Tags

छुटाउनु भयो कि ?