राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् । पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो। तर, केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता कायम राख्दै महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट मात्र हटाउने निर्णय गरेको हो । त्यस्तै, उनलाई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको छ ।
यसअघि गत बुधबार (असार १९) सात दिनका लागि ढकाललाई निलम्बन गरेको थियो। पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गरिएको थियो। बुधबारको बैठकमा ढकाल मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए। आजको बैठकमा भने उनी उपस्थित भएनन्।ढकालले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा समेटिएका केही विषयहरू सार्वजनिक भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको थियो।
उनले पार्टी यही ढंगबाट चले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी नहुनेदेखि सभापति रवि लामिछाने पार्टीमा एकलौटी ढंगले चलेकोसम्मका आरोप लगाएका थिए। यसबारे आफूले लेखेको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक हुनुपर्ने र केन्द्रीय कमिटी बैठक लाइभ (प्रत्यक्ष प्रसारण) गर्नुपर्ने उनको माग थियो।