टप खबर

वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने मन्त्री डोलप्रसाद अर्यालको प्रतिवद्धता

Lumbinikhabar Online

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयले विदेश जाने श्रमीकहरु नठगिने र म्यानपावर व्यवसायीहरुले पनि वैध रुपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिटै कार्यविधि बनाउने बताउनुभयो ।

मन्त्री अर्यालले नेपालमा गैरबैंकिङ च्यानलबाट हरेक वर्ष दुई खर्ब, एक अर्ब ६० करोड रुपैयाँ म्यान पावर व्यवसायीहरुले उठाइरहेको तथ्यांक आफूले पाएको भन्दै अहिले अध्ययन गरी व्यवस्थित गराउने तयारीमा आफू रहेको बताउनुभयो । उहाँले विदेश जाँदा सीप तालिम सिकेर जान आवश्यक रहेको र सरकार सोही दिशामा अग्रसर रहेको पनि बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, ‘अध्ययन पछि हामीले कोही पनि नेपाली बाध्यताले विदेश जानुपर्छ र उहाँसँग रकम छैन भने मिटरब्याज, सहकारी, चोकेबाज वा आफ्ना जाहेजेथा बेचेर जानुपर्दा पनि थोरै रकम तिरेर विदेश जाने वातावरण बनाउनुपर्छ भनेर यसलाई अत्यन्त राम्रो अध्ययन गरी सेवा शुल्कको बारेमा अध्ययन गरिरहेका छौँ । यसले सरकारलाई अर्बौं रुपैयाँ कर आउने र व्यवसायीहरुले पनि वैध रुपमा आम्दानी गर्ने एवं नेपाली नागरिकहरु नठगिने तयारी गरिएको छ । छिट्टै व्यवस्थित र मर्यादित हुनेछ ।’ मन्त्री अर्यालले श्रमिकहरुलाई विदेशमा गएर पनि मर्यादित काम र उचित पारीश्रमिकको व्यवस्था मिलाउने गरी व्यवस्थित गरिने बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?