टप खबर

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको आग्रह

Lumbinikhabar Online

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले  दुई ठुला दल र अन्य दलहरूले पनि नयाँ सत्ता समीकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समीकरणको मुख्य दलको बैठकले प्रधानमन्त्रीलाई बाटो छोड्न भनेको हो ।  ‘दुई वटा ठुला दल नेपाली कांग्रेस र एमालेसँगै सरकार बनाउने भनिसकेपछि त स्वाभाविक रूपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्ग प्रशस्त गर्नुपर्छ । त्यो पनि हाम्रो निर्णयमा आएको छ ।

उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । र, अरू दलको समेत समर्थन घोषणा भइराखेको छ । यो जुन नयाँ समीकरण बनेको छ । यो सम्बन्धमा हाम्रो कार्य सम्पादन समितिको बैठकले सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ ।’ महतले भने । त्यसैगरी बैठकले नयाँ सत्ता समीकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबिचको समझदारी सबै दलहरूसँग सघन छलफल गरेर मात्रै बढाउने पनि स्पष्ट पारेको प्रवक्ता महतले बताए ।

Tags

छुटाउनु भयो कि ?