उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याराको खोजी जारी रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकबारे छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘अपराधको अनुसन्धान र अभियोजन गृह मन्त्रालयको प्राथमिकतामा छ। निर्मला पन्तको हत्या गर्ने व्यक्ति पत्ता लगाउन आवश्यक कार्य भइरहेको जानकारी सम्मानित सदनमा जानकारी गराउँछु।’
उनले गिरिबन्धु टी-स्टेटलगायतका विषयमा यदि कानुन उलङ्घन भएको छ भने सो विषयमा आवश्यक अनुसन्धान हुने बताए। उनले सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुविधा कम भएको उल्लेख गर्दै स्रोतसाधनको सीमितताका कारण समस्या पूर्ण रूपमा समाधान गर्न नसकिए पनि भविष्यमा थप स्रोतसाधनले सुविधा सम्पन्न गर्दै लैजाने प्रतिबद्धता जनाए।