प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको दाबी गरे ।
‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएदेखि नै हो । तर तरिका मिल्यो भने पूरै अवधि बसिन्छ’, प्रचण्डले भने, ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ ।’ उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।