नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्न सक्ने बताउनुभयो ।
सभापति देउवाले अहिले संसारभर नै महिलाहरुको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उहाँ जस्तै योग्य बन्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरेको उल्लेख गर्दै नेपाली काँग्रेसले उठाएका उम्मेदवारहरु चुनावमा पराजय हुने भएकाले पराजय हुने कुरालाई कसरी जित दिलाउने भन्नेतर्फ सोच्न आग्रह गर्नुभयो ।