News in Nepali

सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने नेपालको निर्णयमा भारत असन्तुष्टि

Lumbinikhabar Online

नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।  नेपाल सरकारले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै विदेशमन्त्री जयशंकरले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’

 

नेपाल सरकारको निर्णयबारे विस्तृत जानकारी नभएको बताउँदै उनले सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको उनले बताए । गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो ।

 

नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भारतले अतिक्रमण गरेका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?