नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित ३२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । अख्तियारले ३२ जनालाई नै एक अर्ब ४७ करोड १० लाख रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। शाही कर्णालीमा कांग्रेस संसदीय दलका नेता हुन् । तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए ।कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन् ।
नेपाल वायु सेवा निगमले बिक्रेता पार्टनर कम्पनीहरू एएआर इन्टरनेसनल इन्क, जर्मनी एभिएसन क्यापिटल र हाइ फ्लाइ ट्रान्सपोर्टी एरियोससँग ए ३३०-२०० विमान खरिद गरेको थियो। उक्त विमान खरिद गर्दा तत्कालीन पर्यटन तथा उड्डयन मन्त्री शाही, वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार समेतका कर्मचारी र बिक्रेता कम्पनीहरूले मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। उल्लेखित कम्पनीहरूले हाइफ्लाइ एक्स आयरल्यान्ड लिमिटेडलाई स्पेसियल पर्पोज कम्पनीको रूपमा नियुक्त गरेको थियो। एस्क्रो एजेन्ट (भुक्तानी गर्नका लागि तोकिएको कम्पनी) को रूपमा नर्टन रोज फूलब्राइट एलएलपीलाई नियुक्त गरिएको थियो।
निगमले यो प्रक्रिया २०७३ सालमा अघि बढाएको थियो। निगमले दुई वटा वाइडबडी एयरबस जेट विमान खरिद प्रक्रिया अघि बढाएको थियो, तर खरिद गरेलगत्तै विवादमा पर्न थाल्यो। खरिद प्रक्रिया नै अपारदर्शी भएको भन्दै विरोध भयो। त्यतिखेर संसदको सार्वजनिक लेखा समितिले २०७५ सालमा गरेको छानबिनमा विमान खरिद गर्दा निगमलाई करिब ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको छ।