बिबिध

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.उपाध्यायका तीन गीति एल्बम विमोचन

Lumbinikhabar Online

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका फरक शैलीका तीन गीति एल्बम विमोचन गरिएको छ ।

शुक्रवार काठमाडौंको चाबहिलमा एक कार्यक्रमका बीच कीर्तिमानी गीतकार उपाध्यायका ‘आकांक्षा’, ‘अभिभूत’ र ‘अभिलाषा’ एल्बम विमोचन गरिएको हो ।

एल्बमलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, कीर्तिमानी गायक/संगीतकार सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी, लेखक एवं मिलाप फाउण्डेसनकी अध्यक्ष गीता अधिकारी, युथ क्रियसनका अध्यक्ष रमेश थापा, गीतकार उपाध्यायलगायतले विमोचन गरेका थिए ।

यी तीनवटै एल्बम फरक शैलीका रहेका छन् । एल्बम ‘आकांक्षा’मा म्यासअपसङ रहेका छन् । अर्थात् एउटै ट्र्याकमा धेरै गीतहरूको अंशलाई जोडेर गीत बनाइएको छ । यसमा तीन दर्जनभन्दा बढी गीत रहेका छन् । यस्तै, एल्बम ‘अभिभूत’मा रिंगब्याक टोन सिआरबिटी र पिआरबिटी एकल गीतकारको शब्द रचनामा रहेका १५० भन्दा बढी गीतहरू रहेका छन् । त्यसै गरी एल्बम ‘अभिलाषा’ गीत सुरु हुनुभन्दा अगाडिको धुनलाई लिएर अर्थात् परिचय धुनलाई लिएर बनाइएको छ । जसमा १५० भन्दा बढी गीत रहेका छन् ।
आफूले आफ्ना प्रस्तुतिलाई फरक-फरक ढंगले प्रस्तुत गर्नेक्रममा तीन गीत यसरूपमा प्रस्तुत गरेको उनले बताए ।

विमोचन समारोहमा संगीतकार श्रेष्ठले उपाध्यायले आफ्ना प्रस्तुतिलाई सधैँ फरक ढंगले प्रस्तुत गर्ने गरेको आफूले पाएको उल्लेख गर्दै आज त्यसैको अर्को रूप यहाँ प्रस्तुत भएको बताए । ‘सधैँ नयाँ–नयाँ खोज गर्ने क्रममा डा. उपाध्यायका १३२ विश्व कीर्तिमान भएका छन् । त्यसैको निरन्तरता स्वरूप आजको यो प्रस्तुति रहेको छ,’ संगीतकार श्रेष्ठले भने ।

अधिकारीले आफू लामो समयदेखि डा. उपाध्यायसँग सहकार्य गर्दै आएको बताउँदै उनको कार्यलाई बधाई तथा शुभकामना दिएका थिए । यस्तै, सो अवसरमा अन्य अतिथिहरूले पनि नयाँ एल्बमका लागि डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए ।  डा. उपाध्यायले हालै प्रेमदिवसको अवसर पारेर आफ्ना १५० भन्दा बढी गीतलाई ‘हट एयर बेलुन’मार्फत् आकाशमा उडाएर सार्वजनिक गरेका थिए ।

डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् । तीन गीति एल्बम विमोचन समारोहमा पत्रकारले राखेको जिज्ञासाको उत्तर दिँदै डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी दिएका थिए ।

Tags

छुटाउनु भयो कि ?