नेपालका उद्यमी, व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायी एवं सिजी होल्डिंग्सका अध्यक्ष अरुण चौधरीलाई पक्राउ गरेकामा ध्यानाकर्षण भएको जनाएको छ। महासंघले चौधरी पक्राउ प्रकरणले व्यवसायीबीच त्रास उत्पन्न भएको उल्लेख गरेको छ।
चौधरीलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेपछि महासंघले प्रतिक्रिया सार्वजनिक गरेको हो मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड एवं पक्राउबारे ध्यानाकर्षण भएको उद्योग वाणिज्य महासंघले बताएको छ।
महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक–पटक आग्रह गर्दै आएको स्मरण गराएको छ। पहिले पक्राउ गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाएको महासंघको ठहर छ।
महासंघले यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ।केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जानेतर्फ महासंघ सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ भनिएको छ।