राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री एस जयशंकरले बिहीवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिएका छन् । उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरे । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने प्रष्ट पारेको पोखरेलले जानकारी दिए । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आए लगत्तै जयशंकर शीतलनिवास पुगेका हुन ।