भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन ।
भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भए पनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन ।
भारी वर्षा र चट्याङका कारण २४ जनाको मृत्यु भएको र २३ जना घाइते भएका गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
वर्षा र चट्याङका कारण कम्तीमा ७१ वटा जनावर पनि मारिएका छन् । गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन् ।