भक्तपुरको सल्लाघारीमा दशैंका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् । दशैंका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले बुधबारबाट मूल्य घटाएका हुन् । दशैंको विजयादशमी सकिएपछि व्यापारीले मूल्य घटाएका हुन् । दशैंका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्रा बुधबारबाट किलोमा २५० रुपैयाँ घटाइएको हो । व्यापारीको सल्लाहअनुसार नै च्याङ्ग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार एक सयमा बिक्री गरेको व्यापारी बताउछन् ।
बझाङबाट ल्याइएको नेपाली च्याङ्ग्रा प्रतिकिलो ९ सय रुपैयाँमा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो एक हजार एक सयमा बिक्री भइरहेको व्यपारीहरु बताउनछन् ।
च्याङ्ग्रा तयारी मासुको मूल्य पनि घटेको छ । सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार ८ सयमा व्यापारीले बिक्री गर्दै आए पनि आजबाट दुई हजार ५ सयमा बिक्री गर्न थालेको व्यापारीले बताएका छन् । उता सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ । व्यापारीहरुले खसी आजबाट प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री गर्न थालेका छन् । यसवर्ष यहाँ करिब दुई हजार खसी, दुई हजार भेडा, च्याङ्ग्रा ल्याइएको व्यापारीले बताएका छन् ।