News in Nepali

मिटरमा नचल्ने ट्याक्सीलाई जरिवाना बढाइयो

Lumbinikhabar Online

पोखरामा मिटरमा नचल्ने ट्याक्सीको लागि जरिवाना बढाइएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ट्याक्सीमा मिटर प्रणालीलाई प्रभावकारी बनाउन जरिवाना बढाउने निर्णय भएको जनाएको छ ।

भदौ १ गतेदखि पोखरामा लागू गरिएको अनिवार्य मिटर प्रणालीबाट सर्वसाधारण यात्रुलाई राहत मिलेकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने निर्णय गरेको मन्त्रालयका उपसचिव एवं प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको अध्यक्षतामा सुरक्षा अधिकारी, मन्त्रालयका अधिकारी र यातायात कार्यालयका प्रमुखको मंगलबार पोखरामा बसेको बैठकले मिटर प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमनलाई तिब्रता र जरिवानाको दर बढाउने निर्णय गरेको हो ।

हालसम्म मिटरमा चल्न नमान्ने ट्याक्सीलाई दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएकोमा अबदेखि जरिवानाको न्यूनतम दर पाँच हजार पुर्‍याउने निर्णय भएको यातायात व्यवस्था महाशाखा प्रमुख पौडेलले बताए । बैठकमा राजमार्ग सुरक्षा तथा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन तिमिल्सिना, यातायात व्यवस्था कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिजाल, ट्राफिक प्रहरी निरीक्षक भानु शर्मा, वरिष्ठ प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठक र मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो ।

मिटरमा चल्न नमाल्ने ११७ वटा ट्याक्सीलाई हालसम्म कारबाही गरिएको र केही ट्याक्सी कारबाहीको प्रक्रियामा रहेका ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । मिटरमा नगुड्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने रणनीति लिइएको मन्त्रालयले जनाएको छ । ‘ट्याक्सी मिटरमा चले/नचलेकाबारे मन्त्रालयबाट नियमित रुपमा कडाइका साथ अनुगमन गरिरहेका छौ’ मन्त्री जुग्जालीले भने, ‘कुनै ट्याक्सीले मिटरमा चल्न नमानेमा तुरुन्तै ट्राफिक प्रहरी, यातायात कार्यालय र मन्त्रालयमा उजुरी गर्न सक्नुहुन्छ । यात्रुको गुनासो तत्कालै सम्बोधन र मिटरमा नचल्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही हुन्छ ।’

ट्याक्सीले मनपरि भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो । ट्याक्सी व्यवसायीसँग विभिन्न चरणमा छलफल गरी मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्ने निर्णय भएको थियो । २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । दुई वर्षअघि समायोजन गरेको भाडादर अनुसार १५ किमीको यात्रामा चढ्ना साथ ८० र त्यसपछि प्रति दुई सय मिटरको १० तोकिएको छ ।

१५ किलोमिटरभन्दा बढीको दूरीमा प्रतिकिलोमिटर ३७ रूपैयाँ ५० पैसा कायम गरिएको थियो । केही ट्याक्सी व्यवसायीले पछिल्लोसमय इन्धन र सवारी साधनका उपकरणमा भएको मूल्यवृद्धिअनुसार भाडा समायोजन नभएको भन्दै मिटरमा चल्न आनाकानी गर्न थालेको यात्रुले गुनासो गरेका छन् । भाडादर समायोजनको विषयमा पनि मन्त्रालय गृहकार्यमा जुटिरहेको बताउँदै प्रवक्ता पौडेलले यातायात व्यवसायीले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयनमा जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

Tags

छुटाउनु भयो कि ?